काठमाडौं। प्रतिनिधि सभामा पहिलोपटक ट्रान्सजेन्डर ब्यक्तिको प्रतिनिधित्व भएको छ।
नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हकहितका पक्षमा काम गर्दै आएकी ट्रान्सजेन्डर भुमिका श्रेष्ठ प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट सांसद बनेकी हुन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको थियो। उनी निल हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) मा सन् २००४ देखि सक्रिय रहँदै आएकी थिइन्।
नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मानव अधिकार, सामाजिक न्याय बिशेष गरी पहिचान सहित को नागरिकता, बैवाहिक समानता तथा समुदायको शसक्तिकरणका लागि शान्तिपूर्ण आन्दोलनको अग्रपङ्क्तिमा रहेर उनले काम गर्दै आएकी थिइन्।
समाजले सोमबार समूदायका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित भएकी भूमिका श्रेष्ठलाई सम्मान तथा विदाइ गरेको हो।
कार्यक्रममा धारणा राख्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी,अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका हरेक आवाजहरुलाई सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्,‘आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका हरेक आवाजहरुलाई सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु। भविश्यमा मैंले गर्नुपर्ने कामको लागि यहाँहरु सबैको साथ सपोर्ट रहन्छ भन्ने विश्वास लिएको छु।’
त्यस्तै उनले सञ्चारमाध्यमले मुद्दा उठाइदिएको कारणले समुदायको प्रतिनिधित्व संसदसम्म पुग्न सफल भएको भन्दै विशेष धन्यावाद व्यक्त गरिन्।
सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले २४–२५ वर्षपछि लैङ्गिक अल्पसंख्यक समूदायको प्रतिनिधित्व सदनमा हुन लागेको यो अवसरले संघर्ष गरेपनि सफलता प्राप्त गर्न सकिँदैन् भन्ने अवस्था अन्त्य भएको धारणा राखिन्।
‘२४–२५ वर्षपछि बल्ल हामीले यो अवसर पाएको छौं। हामीले संघर्ष गरेपछि सफलता प्राप्त गर्न सकिदैन भन्न सक्ने अवस्था चाँही रहेन’ उनले भनिन्।
सडकका मुद्दाहरुलाई संगालेर र ती मुद्दाहरुलाई मनन गरेर सदनसम्म पुर्याउन भूमिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ।
सो अवसरमा सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरु खारेज गर्न सुझाव दिइन्।
`हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट संघिय संसदमा समानुपातीक प्रणालिबाट निर्वाचित हुनु हुने नेपालको पहिलो पारलैङ्गीक ब्यक्ती हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। लामो समय हामीसँगै कार्य गरी हाम्रो संयुक्त प्रयासमा तपाईंलाई सदनसम्म पुर्याउन पाउँदा हामीलाई अत्यन्त गर्व लागेको छ। आगामी दिनमा तपाईंको सशक्त नेतृत्वले लैङ्गिक तथा यौनिक अल्पसंख्यक, सीमान्तकृत र राज्यको मूल प्रवाहबाट पछाडि पारिएका वर्गको हक-हितका पक्षमा संसदमा आवाज बुलन्द गर्दै यी समुदायको उत्थानका लागि कानुन निर्माण प्रक्रियामा अर्थपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं। यस ऐतिहासिक उपलब्धि र संसदमा समुदायको अर्थपूर्ण सहभागिताका लागि अवसर प्रदान गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी लगायत हामीलाई हाम्रो अभियानमा सुरुवातीकालादेखी सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवाला ब्यक्ती तथा निकायहरूप्रति हामी निल हिरा समाज परिवार विशेष आभार प्रकट गर्दै तपाईंको आगामी यात्राको पूर्ण सफलताको कामना गर्दछौं।´ निल हिरा समाजले सामाजिक संजालमार्फत उनलाई शुभकामना दिंदै भनेको छ।



