काठमाडौँ। विश्व स्वास्थ्य संगठनका पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामीनाथनले लैंगिक हिंसाको समस्या समाधान नगरी एएमआर नियन्त्रण सम्भव नहुने बताएकी छिन्।
उनका अनुसार धेरै महिलाहरू घनिष्ठ सम्बन्धमा हुने हिंसा वा घरेलु हिंसाको जोखिममा हुन्छन्, जसले शारीरिक वा यौनजन्य संक्रमण बढाउन सक्छ। तर परिवार र समाजमा कमजोर निर्णयक्षमताका कारण उनीहरूले समयमै उपचार खोज्न सक्दैनन्।
यस्तो अवस्थामा अधूरो उपचार, गलत मात्रा वा गलत औषधिको प्रयोगले औषधिप्रतिको प्रतिरोध बढाउन सक्ने उनी बताउँछिन्।
यौनजन्य संक्रमण, पिसाबको संक्रमण, प्रजनन मार्ग संक्रमण तथा पेल्भिक इन्फ्लेमेटरी रोगजस्ता समस्याहरू यौन हिंसासँग जोडिएका हुन्छन्। यसले एन्टिबायोटिकको प्रयोग बढाउने सम्भावना पनि हुन्छ। असुरक्षित गर्भपतनका कारण पनि संक्रमण र एएमआरको जोखिम बढ्ने उनले बताइन्।
ड्रग–रेसिस्टेन्ट क्षयरोगबाट बचेकी तथा विश्व स्वास्थ्य संगठनको एएमआर सर्वाइभर टास्क फोर्स सदस्य भक्ति चाभानका अनुसार क्षयरोग र एचआईभी एड्सजस्ता रोगसँग अझै पनि समाजमा ठूलो कलंक स्टिग्मा जोडिएको छ।
उनका अनुसार यस्ता रोग भएका महिलालाई बिरामी मात्र नभई परिवारको इज्जत बिगार्ने व्यक्तिका रूपमा पनि हेर्ने गरिन्छ। त्यसैले धेरै महिलाहरू रोग लुकाउँछन्, परीक्षण ढिलाइ गर्छन्, गोप्य रूपमा औषधि सेवन गर्छन् वा उपचार बीचमै छोड्ने गर्छन्।
दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयकी सहप्राध्यापक डा एस्मिता चारानीका अनुसार समाजमा स्रोत र स्वास्थ्य सेवामा पहुँच कम भएका समुदायमा रोगको भार बढी हुन्छ।
उनका अनुसार स्वास्थ्य सेवामा पनि शक्ति असमानता हुन्छ, जसमा महिला प्रायः कमजोर अवस्थामा हुन्छन्। धेरै महिलाहरूले आफ्नो स्वास्थ्य आवश्यकतालाई परिवारका अन्य सदस्यको आवश्यकताभन्दा पछि राख्ने गर्छन्। अस्पतालमा पनि उनीहरू प्रायः आफैं उपचार खोज्नभन्दा परिवारका सदस्यको हेरचाह गर्न आउने गरेको उनले बताइन्।
इन्डियन स्कूल अफ बिजनेसकी अनुसन्धान वैज्ञानिक डा दीपशिखा भटेझाका अनुसार महिनावारीसँग सम्बन्धित सामाजिक मान्यता, हेरचाहको जिम्मेवारी, महिलाले गर्ने कामको सीमितता, छोरा प्राथमिकता, गर्भावस्था तथा आर्थिक स्रोतमा नियन्त्रण जस्ता कारणहरूले महिलाको शिक्षा, सचेतना र स्वास्थ्य सेवामा पहुँच कम बनाउँछन्।
यसले संक्रमणको जोखिम बढाउनुका साथै स्वास्थ्य सेवा खोज्ने व्यवहार घटाउँछ। परिणामस्वरूप उचित परीक्षण र उपचार नपाएर एन्टिबायोटिकको गलत प्रयोग बढ्ने सम्भावना हुन्छ।
प्यान अरब वुमन फिजिसियन एसोसिएसनकी संस्थापक अध्यक्ष डा मेइस्सम अक्रुशका अनुसार महिलाले एन्टिबायोटिकको सही प्रयोगमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। उनका अनुसार महिला आमा, शिक्षक, स्वास्थ्यकर्मी तथा फार्मेसीमा काम गर्ने व्यक्तिका रूपमा समाजको केन्द्रमा हुन्छन्।
उनीहरूलाई लक्षित गरेर सचेतना अभियान सञ्चालन गरेमा एन्टिबायोटिकको सही प्रयोगबारे ठूलो जनसंख्यामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
ग्लोबल एएमआर मिडिया एलायन्सकी अध्यक्ष शोभा शुक्लाले महिला हिंसाका कारण एएमआरको समस्या बढी हुनु दुखद भएको बताइन। यसलाई कम गर्न समाजबाट हिंसा हट्नुपर्नेमा जोड दिइन।
शुक्लाले एएमआरको समस्या हटाउन समानता, हेरचाह र ऐक्यबद्धतामा आधारित ‘फेमिनिस्ट’ दृष्टिकोण आवश्यक छ रहेको पनि जिकीर गरिन।



