काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा आयोजना भएको `नेपाल फार्मा एक्स्पो २०२६´ सम्पन्न भएको छ।
नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा गत बिहीबारबाट आयोजना भएको तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ शनिबार सम्पन्न भएको हो। यो एक्स्पोको १० औँ संस्करण हो।
‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ आयोजना गरिएको एक्स्पोमा नेपाली औषधि उद्योगले प्रयोग गरेका प्रविधि र नेपाली औषधि उद्योगको वास्तविक अवस्थाको प्रदर्शनी गरिएको थियो।
एपोनका अध्यक्ष विप्लव अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन एक्स्पोको आयोजना गरिएको बताए।
उनले एक्स्पोमा नेपाली औषधिले प्रयोग गरिरहेको विश्व बजारको प्रविधिलाई उजागर गरिएको जानकारी दिए। यस्तै नेपालमा औषधि कसरी उत्पादन भइरहेको छ र कस्ता प्रविधिको प्रयोग भइरहेको छ भन्ने विषयलाई एक्स्पोले प्रत्यक्ष रुपमा प्रस्तुत गरेको बताए।
`नेपालमा औषधि कसरी उत्पादन भइरहेको छ र कस्ता प्रविधिको प्रयोग भइरहेको छ भन्ने विषयलाई एक्स्पोले प्रत्यक्ष रुपमा प्रस्तुत गरेको छ, यो एक्स्पोले नेपाली औषधि वास्तविकता छर्लङ्ग देखाएको छ।´ अध्यक्ष अधिकारीले एक्सरे नेपालसँग भने।
एपोनका महासचिव सन्तोष बरालले एक्स्पोमा औषधि क्षेत्रसँग सम्बन्धित मात्र १० हजार भन्दा बढीले नाम दर्ता गराएरै अवलोकन गरेको जानकारी दिए। त्यसबाहेक अन्य आमसर्वसाधारण र सरोकारवाला पक्षबाटसमेत गरि करिब २५ हजारले एक्स्पोको अवलोकन गरेको उनले बताए।
एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यका अनुसार एक्स्पोमा राष्ट्रिय अन्तर्राष्ट्रिय गरि २०० भन्दाबढी स्टल थिए। एक्स्पोमा ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो।
वैद्यका अनुसार एक्स्पोमा विश्वबजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिनुका साथै स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादन पनि राखिएको थियो।
फार्मा एक्स्पो हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आइरहेको छ।















