काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फ राजनीतिक दलहरूलाई प्राप्त हुने सिट संख्याको टुंगो लगाइदिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सिट संख्या अनुसार ६ वटा राजनीतिक दलले समानुतर्फ सिट पाउँदै यो निर्वाचनबाट राष्ट्रिय दल बनेका छन्।
राष्ट्रिय दल बन्न निर्वाचनमा खसेको कुल मत मध्ये सदर भएको कुल मतको ३ प्रतिशत मत प्राप्त गर्नु पर्छ। सो मत संख्या प्राप्त गर्न नसक्ने दल राष्ट्रिय दल बन्न सक्दैनन्।
निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको परिणाम अनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ सिट बाँडफाँट हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरि ६ दल राष्ट्रिय दल बनेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ ५७ सिट पाएको छ। यसैगरी कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृति पार्टी र राप्रपाले समान ४-४ सिट पाएका छन्। समानुपातिक तर्फ प्रतिनिधि सभामा कुल सिट संख्या ११० छ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा कुल १,८९,०३,६८९ मतदातामध्ये पहिलो हुने निर्वाचन प्रणालीतर्फ १,११,६८,०३२ मत खसेको थियो। जसमा १,०५,५९,०१७ अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने १,१२,८०,६१७ मत खसेकोमा १,०८,३५,०२५ अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको थियो। समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार प्राप्त मतका आधारमा प्रचलित निर्वाचन कानुन अनुसार दलहरूलाई सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार समानुपातिकतर्फ थ्रेसहोल्ड (३ प्रतिशत) पार गर्ने ६ राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि सिट प्राप्त गरेका हुन्।



