काठमाडौं। नेपाल फर्मा एक्स्पोको दशौँ संस्करण ‘नेपाल फर्मा एक्स्पो २०२६’ आजदेखि सुरू भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले फर्मा एक्स्पोको बिहीबार उद्घाटन गरेकी हुन्।
एक्स्पोमा नेपाली औषधि उद्योगले औषधि उत्पादनका क्षेत्रमा गरिरहेको प्रयोग र अनुभव देखाइएको छ। यसैगरी ज्ञान र प्रविधिको प्रदर्शनी एक्स्पोमा विशेष छ।
नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु एक्स्पोमार्फत नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजक संस्था नेपाल औषधि उत्पादक संघ (एपोन) ले जनाएको छ।
एक्स्पोमार्फत औषधि उत्पादनका क्षेत्रमा विश्व बजारले प्रयोगमा ल्याएको नविनतालाई पनि नेपाली औषधि उद्योगसँग जोड्ने लक्ष्य लिएको छ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपालका औषधि उद्योगमा प्रयोग भइरहेकासहित विश्व बजारका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको जानकारी दिए।
एक्स्पोमा स्वदेशी तथा विदेशी गरि २०० भन्दा बढी स्टलहरू छन्। जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन प्रमुख रूपमा राखिएका छन्।
संघका महासचिव सन्तोष बरालले एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको बताए। प्रदर्शनीको अवलोकन जोकोहीले पनि नि:शुल्क गर्न पाउने उनले जानकारी दिए।
एक्स्पोमार्फत स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरूको समेत प्रदर्शन गरिने छ। यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो भएको उत्पादकहरुले बताएका छन्।
तस्वीरमा हेरौं ‘नेपाल फर्मा एक्स्पो २०२६’













