काठमाडौं। नेपाल फर्मा एक्स्पोको दशौँ संस्करण ‘नेपाल फर्मा एक्स्पो २०२६’ आजदेखि सुरू हुँदै छ। एक्स्पोमा नेपाली औषधि उद्योगको वास्तविकता, ज्ञान र प्रविधिको प्रदर्शनी हुँदैछ।
नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको एक्स्पोमार्फत नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखिएको छ। यसैगरी औषधि उत्पादनका क्षेत्रमा विश्व बजारले प्रयोगमा ल्याएको नविनतालाई पनि नेपाली औषधि उद्योगसँग जोड्ने लक्ष्य यो एक्स्पोले लिएको छ।
नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपालका औषधि उद्योगमा प्रयोग भइरहेकासहित विश्व बजारका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको जानकारी दिए। एक्स्पोको उद्घाटन स्वास्थ्य मन्त्री डा. सुधा गौतमले गर्दैछिन।
एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहने छन्। जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन प्रमुख रूपमा रहने छन्।
संघका महासचिव सन्तोष बरालले एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहने बताए। प्रदर्शनीको अवलोकन जोकोहीले पनि नि:शुल्क गर्न पाउने उनले जानकारी दिए।
एक्स्पोमार्फत स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरूको समेत प्रदर्शन गरिने छ। यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो भएको उत्पादकहरुले बताएका छन्।
एक्स्पोमार्फत सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउने उद्देश्य रहेको संघका महासचिव बराल बताउँछन्।
फागुन २८, २९ र ३० गरि तीन दिन एक्स्पो सञ्चालन हुने छ।



