काठमाडौँ। बागमती प्रदेशभरबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका एक जना उम्मेदवार मात्रै निर्वाचित भए। बागमतीबाट जित्ने ती एक्ला ब्यक्ति हुन् ईन्जिनीयर मोहन आचार्य।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते सम्पन्न गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर कमजोर नतिजा निकालेको कांग्रेसले बागमती प्रदेशमा एक सिटमात्र जित्न सफल हुँदा आचार्यले जित निकालेका हुन्।
बागमती प्रदेशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारका पक्षमा नतिजा आएको अवस्थामा रसुवा जिल्लाबाट १० हजार ६५६ मतका साथ इन्जिनीयर आचार्यले तेस्रोपटक सांसद बनेर ह्याट्रिक गरे।
निर्वाचनको अन्तिम परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरेका छन्।
बागमती प्रदेशभरका ३३ क्षेत्रमध्ये ३१ क्षेत्रमा रास्वपा, एक क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी र एक क्षेत्रमा कांग्रेसको उम्मेदवार निर्वाचित भएका छन्। बागमती प्रदेशमा नेकपा (एमाले)ले भने जित हाँसिल गर्न सकेन।
रसुवाको उत्तरगया गाउँपालिकास्थित लहरेपौवामा विस २०३३ सालमा जन्मिएका आचार्य विसं २०४८ सालमा विद्यार्थी राजनीतिमा आवद्ध भएका थिए।उनी कांग्रेसको गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन्।
आचार्य विसं २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत रसुवाबाट निर्वाचित भएका थिए। विसं २०७४ मा तत्कालिन नयाँ शक्ति पार्टी र विसं २०७९ मा तत्कालिन नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन हुँदा उनी निर्वाचित भएका थिए।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसद आचार्यले नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए अहिलेभन्दा पनि खराब नतिजा आउने बताए।
“नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए मैलेपनि जित्ने अवस्था रहँदैनथ्यो, पार्टी बदलिएर निर्वाचनमा गएकाले मैले सहजै जित हात पार्न सफल भएँ,” उनले सुनाए।
आचार्यले आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले आगामी दिनमा संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।



