काठमाडौं। प्रतिनिधि सभा सदस्य तथा पुर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमाकार्कीले औषधि र स्वास्थ्य सेवा कम गुणस्तरीय प्रदान गरिनु अपराध भएको बताएकी छन्।
मंगलबार स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा ललितपुरमा आयोजित `नेपाल फार्मा एक्स्पो तथा औषधिमा आत्मनिर्भरता नीतिगत सबाल´ विषयक अन्तर्क्रिया कार्यक्रममा डा. कार्कीले औषधि र स्वास्थ्य सेवा कम गुणस्तरीय प्रदान गरिनु अपराध भएको बताएकी हुन्।
`गुणस्तरीय औषधि नागरिकको बिचमा पुगेको छकी छैन? औषधि उत्पादन हुँदा गुणस्तरीय भएपनि बिरामीसम्म डेलिभरी हुँदा गुणस्तरीय रहन्छ रहन्न? यो विषय सरकारको दायित्वको विषय हो, औषधिको गुणस्तर तहगत रुपमा जाँच हुनुपर्छ, औषधि र स्वास्थ्य सेवा कम गुणस्तरीय दिनु भनेको अपराध हो।´ डा. कार्कीले भनिन्।

उनले नेपाली नागरिकको ६० प्रतिशत रकम औषधिमा खर्च हुने गरेको पनि बताइन्।
डा.कार्कीले औषधिमा आत्मनिर्भर हुनुभनेको ब्यवसायिक पाटो मात्र नभएर नागरिकसँग जोडिएको सुरक्षाको विषय पनि भएको बताइन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले जनमानसबाट नेपाली औषधि गुणस्तरीय छैन भन्ने विषय आइरहेको भन्दै नेपाली औषधि बारे यथार्थ जानकारी जनतालाई पनि दिइनु पर्नेमा जोड दिए।
`जनमानसमा नेपाली औषधि नेपाली औषधि गुणस्तरीय छैन भन्ने कुरा आइरहेको छ, किन यस्तो भयो?, एड्भोकेसी गर्नुस्, जनतालाई बुझाउनुस।´ औषधि उद्योगीहरुलाई आग्रह गर्दै डा. दासले भने।

यसैगरी राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले नेपाली औषधिलाई अन्तर्राष्ट्रिय स्तरमा निर्यात गर्न सकिने अवस्था रहेको बताए। उनले विश्व स्वास्थ्य संगठनको औषधिको मापदण्डको लेवललाई बढाएर निर्यातको योजनामा सरकार नै लाग्नु पर्ने धारणा राखे।
कार्यक्रममा औषधि ब्यवस्था विभागकी प्रमुख औषधि ब्यवस्थापक शिवानी खड्गी, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डे, नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी, पुर्व अध्यक्ष महेश गोर्खाली र संघका महासचिव सन्तोष बरालले नेपाली औषधि उद्योगको वर्तमान अवस्था र आत्मनिर्भरताको अवस्था बारे धारणा राखेका थिए।
औषधि ऐन २०३५ को दफा १३ र १४ मा औषधिको गुणस्तर जाँच गर्नुपर्ने व्यवस्था छ।




