काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्ना पार्टीका सभापति गगन थापालाई पदबाट राजीनामा नदिन सुझएका छन्।
प्रतिनिधि सभा निर्वाचनको परिणामपछि सभापति थापाले राजीनामा दिने चर्चा चलिरहेका बेला नेता भण्डारीले अहिले राजीनामा दिने बेला नभएको बरु जिम्मेवारी पूरा गर्ने समय भएको सुझाए।
भण्डारीले सामाजिक संजाल फेसबुकमार्फत सभापति थापालाई सन्देश दिएका हुन्। उनले आफ्नो सन्देशमा नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने जिम्मेवार र समयसापेक्ष बाटो भएको भनेका छन्।
अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व भएको बताउँदै भण्डारीले आजको कटु यथार्थ युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय रहेको र यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुँदा छोडेर हिँड्न नहुने सभापति थापालाई सुझाएका हुन्।
नेता भण्डारीले लेखेका छन्, `अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो। अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। **नेपाली कांग्रेस**लाई बचाउने लडाइँ आज पनि सम्भव छ—यदि इच्छाशक्ति र साहस छ भने। जय नेपाल !´




