मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

२६ वर्षपछि इलाम १ मा कांग्रेसको झण्डा गाड्ने ३६ वर्षीय निश्कल को हुन् ?

२६ वर्षपछि इलाम १ मा कांग्रेसको झण्डा गाड्ने ३६ वर्षीय निश्कल को हुन् ?

images
२०८२ फाल्गुण २५ गते, सोमवार
२०८२ फाल्गुण २५ गते, सोमवार
  • इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हात पार्दै २६ वर्षपछि इलाम १ मा निश्कल राईले नेपाली कांग्रेसको झण्डा गाडेका छन्।

    images

    मतगणना हुँदा कहिले अघि कहिले पछि हुँदै राईले अन्ततः अन्तिम परिणाम आफ्नो पक्षमा पारे। राई इलाम १ मा १४ हजार ५४३ मत प्राप्त गर्दै विजयी भएका हुन्।

    images

    उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार बिनोद नेम्बाङले भने १३ हजार ६३२ मत पाए। राईले पाएको मत नेम्बाङको भन्दा ९११ मत बढी हो। अर्थात राईले ९११ मत बढी पाएर इलाम १ मा २६ वर्षपछि कांग्रेसको झण्डा गाडे।

    राई इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा २०४७ फागुन ७ गते जन्मिएका हुन्। कांग्रेसका तर्फबाट यिजयी बनेका राई इलाममा लोकप्रिय युवा नेता हुन्। उनलाई नजिकबाट चिन्ने इलामका पत्रकार युवराज गौतम भन्छन्, `निश्कलमा केही गर्नु पर्छ भन्ने हुटहुटी छ, अहिले जनताले उनलाई पत्याइदिए।´

    अन्तिम मतपरिणामअनुसार राईसँगै मैदानमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत पाए। उनी इलामको सूर्योदय नगरपालिका प्रमुख समेत बनिसकेका ब्यक्ति हुन्। यस्तै कागते प्रदेश सभा सदस्य समेत थिए।

    यो निर्वाचनमा नेकपाका रणबहादुर राईले भने ७ हजार ६६५ मत र रास्वपाका बिमल गदालले ९ हजार १६० मत प्राप्त गरे।

     ‘हामी स्वयंसेवक’ देखि सांसदसम्म

    ३६  वर्षीय निस्कल राई इलामका शिक्षित तथा संगठनमा खारिएका युवा नेताका रूपमा परिचित छन्। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका उनले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् भने हाल अर्थशास्त्रमा एमफिल अध्ययनरत छन्।

    काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्यापन गरेको अनुभवले उनलाई नेपालको शिक्षा प्रणाली, युवा अवसर र आर्थिक नीतिका विषयमा गहिरो बुझाइ दिएको मानिन्छ।

    नेपाली कांग्रेस इलाम–१ प्रदेश ‘ख’ का क्षेत्रीय सभापतिका रूपमा सक्रिय राई युवाको सहभागिता, स्थानीय विकास र सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका छन्।

    कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमका संयोजकका रूपमा उनले युवालाई सामाजिक अभियान, विपद् व्यवस्थापन तथा सामुदायिक सेवामा जोड्ने काम गरेका थिए। राजनीतिसँगै उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।

    नेपाल रेडक्रस सोसाइटी र जागृति ग्रामीण विकास मञ्च नेपालसँग आबद्ध रहेर उनले विपद् व्यवस्थापन, सामुदायिक सहयोग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्थानीय स्तरमा अलग पहिचान बनाएका छन्।

    अध्ययन र अनुभवका क्रममा उनले दक्षिण कोरिया र हंगेरीलगायत देशको भ्रमण गरेका छन्। त्यहाँको अनुभवलाई स्थानीय विकास र नीति निर्माणसँग जोड्ने सोचका कारण उनी युवामाझ लोकप्रिय बन्दै गएका छन्।

    आथिङ जगतबहादुर लाप्चा स्मृति प्रतिष्ठानका संस्थापक सचिव समेत रहेका राई केही बर्ष अघि काठमाडौंबाट गाउँ फर्किएपछि कांग्रेसकाे राजनीतिमा सक्रिय थिए।

    हाल राई निर्वाचित भएको सो क्षेत्रमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महेश बस्नेतले तत्कालीन नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ६४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए।

    करिब तीन दशकदेखि निरन्तर संसदीय राजनीतिमा सक्रिय रहेका खनालको संसदीय यात्रा त्यही निर्वाचनले रोकेको थियो। त्यसबेला नेकपा (एमाले) का तत्कालीन जिल्ला अध्यक्ष बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत ल्याएका थिए।

    यसअघि वि.सं. २०५६ सालमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले उक्त क्षेत्रमा जित हासिल गरेका थिए। त्यसयता अहिले कांग्रेसले त्यहाँ दोस्रो पटक जित निकालेको हो।

    केछ राईको प्राथमिकता?

    विजयपछि राईले इलाम–१ का मतदाताप्रति आभार व्यक्त गर्दै शिक्षा सुधार, रोजगारी सिर्जना, पूर्वाधार विकास र युवालाई अवसर दिने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    उनले यो जितलाई इलामवासीको विश्वास र अपेक्षाको परिणाम भन्दै जनतासँगको सहकार्यबाट क्षेत्रको विकासलाई गति दिने बताएका छन्।

    इलामका युवाहरूले राईको जितलाई नयाँ पुस्ताको राजनीतिक उदयका रूपमा स्वागत गरेका छन्। लामो समयदेखि परम्परागत नेतृत्वबीच केन्द्रित रहँदै आएको राजनीतिमा युवा अनुहारको उदयले इलामको राजनीतिक भविष्यमा नयाँ आशा जगाएको धेरैको विश्वास छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend