काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसहित सबै पदाधिकारी पराजित भएका छन्।
विषेश महाधिवेशनबाट कांग्रेस सभापति बनेका गगन कुमार थापासहित निर्वाचनमा उम्मेदवार बनेका महामन्त्री तथा सहमहामन्त्री पराजित बने। कांग्रेसबाट आठ जना पदाधिकारीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिर।
२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै सर्लाही–४ बाट उम्मेदवार बनाएको थियो। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहसँग झण्डै ११ हजार मतले पराजित भए। सिंहले ३५ हजार ६८८ मत ल्याएर निर्वाचित हुँदा थापाले २२ हजार ८३१ मत मात्रै पाए।
यसैगरी कांग्रेस महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरे पनि पराजित भए। पौडेल काठमाडौं–५ मा रास्वपाका सम्मित पोखरेलसँग करिब २१ हजार मतान्तरले पराजित भए भने मोरङ–४ मा घिमिरे रास्वपाका सन्तोष राजवंशीसँग २८ हजारभन्दा बढी मतले पराजित बने।
त्यस्तै कांग्रेसका सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा पनि चुनावमा पराजित भर।
सहमहामन्त्री मन्सुर बारा–३ मा रास्वपाका अरबिन्द साहसँग पराजित बने। यस्तै राणा ललितपुर–१ मा रास्वपाका बुद्धरत्न महर्जनसँग तथा चौधरी दाङ–१ मा रास्वपाका देवराज पाठकसँग पराजित बने।
यसैगरी अर्का सहमहामन्त्री रसाइली सुदूरपश्चिमको बझाङमा नेकपा एमालेका ऐनबहादुर महरसँग पराजित बने। यस्तै डोल्पामा कर्णबहादुर बुढा आफ्नै भाइ तथा नेकपा उम्मेदवार धनबहादुर बुढासँग पराजित भए।
यस पटकको निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १७ सिट हात पारेको छ भने यो समाचार तयार पार्दासम्म एक सिटमा अगाडी छ।



