काठमाडौँ। इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्सको अबुधाबीमा ज्यान गुमाउने नेपाली गोरखाका रहेको खुलेको छ ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डको रुपमा मिडल इस्ट कम्पनीमा कार्यरत गोरखाका दिवस श्रेष्ठको ज्यान गएको हो ।
यूएईको पराराष्ट्र मन्त्रालयले नेपाली नागरिकको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
दिवस ड्रोन निष्क्रिय पार्ने क्रममा घटनामा परेको दूतावासले जनाएको छ । २९ वर्षीय दिवसको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।
श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने सम्पूर्ण कार्यमा सहजीकरण दूतावासले गरिरहेको जानकारीसमेत गराएको छ ।
दूतावासले संवेदनशील परिस्थितिमा यूएइमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नसमेत विशेष अनुरोध गरेको छ ।




