गुल्मी। स्वस्थ्य कार्यालय गुल्मीले जिल्लाका करिब २५ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप प्रदान गर्ने तयारी गरेको छ।
माघ २४ गतेदेखि फागुन २ गतेसम्म गुल्मी जिल्ला भित्रका दुई हजार ४६५ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एच.पि.भि.) खोप प्रदान गरिने भएको हो।
यो खोप विद्यालय नजाने किशोरीका हकमा १० वर्ष उमेर समूहकाले लगाउन पाउने छन्। गतवर्ष छुटेका मध्ये कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने किशोरी ११ देखि १४ वर्षसम्मका किशोरीलाई पनि खोप दिइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिए।
यो खोप यसवर्षदेखि नियमित रुपमा प्रदान गर्न लागिएको हो। गतवर्ष भने यो खोप अभियानका रुपमा दिइएको थियो। आगामी वर्षको फागुनमा यो खोप नियमित खोपअन्तर्गत प्रदान गरिने छ।
यो खोप सबै विद्यालयमा प्रदान गरिने र छुटफुट भएकालाई नजिकको स्वास्थ संस्थामार्फत दिइने स्वास्थ्य कार्यालयको तयारी छ।



