काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. चुमनलाल दासलाई मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी दिएको छ।
स्वास्थ्य मन्त्री डा. सुधा गौतमले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई मन्त्रालयको महत्वपूर्ण मानिएको महाशाखाको जिम्मेवारी दिएकी हुन्। डा. दास यसअघि मन्त्रालयमा जिम्मेवारी विहिन अवस्थामा थिए।
नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बाट डा. दासलाई मन्त्रालय सरुवा गरिएको थियो। लामो समय जगेडामा रहेका उनलाई मन्त्री गौतमले महत्त्वपूर्ण जिम्मेवारी दिएकी हुन्।
यसअघि सो महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका डा. कृष्ण पौडेललाई मन्त्री गौतमले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी थिइन्। त्यसपछि सो स्थान रिक्त थियो।
डा. दासले बिहीबारदेखि नै महाशाखा प्रमुखको कार्यभार सम्हालेका छन्।



