ललितपुर। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले समुदायका हरेक क्षयरोगीको पहिचान र सफल उपचारमार्फत क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्नुपर्ने बताएकी छिन्।
राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा गोष्ठीको मंगलबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री डा. गौतमले समुदायका हरेक क्षयरोगीको पहिचान र सफल उपचारमार्फत क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्नुपर्नेमा जोड दिइन्।
उनले निर्माणको चरणमा रहेको नयाँ राष्ट्रिय क्षयरोग रणनीति (२०२६/२७-२०३०/३१) मा प्रभावकारी रुपमा कार्यान्वयनको कार्ययोजना ल्याउन र उपलब्ध स्रोतसाधनको उचित प्रयोग गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिइन्।
गोष्ठीमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले नेपालमा क्षयरोगको वर्तमान अवस्थाबारे जानकारी गराए।
संघ, प्रदेश र स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको दुई दिने गोष्ठी आज सकिंदैछ।
यस गोष्ठीले कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीहरू पहिचान गरी आगामी वर्षका लागि ठोस समाधानका उपायहरू तय गर्ने उद्देश्य राखेको छ।



