काठमाडौं।नेपालको पानीबाट उत्पादित बिजुली भारतहुँदै तेस्रो मुलुक बंगलादेश निर्यात हुने भएको छ। नेपालले भारतपछि बंगलादेशलाई नेपालको बिजुली बेच्ने गरी बिहीबार त्रिपक्षीय सम्झौता भएको हो। यसअघि नेपालबाट भारतमा बिजुली निर्यात गरिएको थियो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवको उपस्थितिमा काठमाडौंमा आयोजित एक समारोहकाबिच विद्युत् खरिद बिक्री सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिजवान करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारानले हस्ताक्षर गरेका हुन्।
सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पहिलो चरणमा बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात् गरिने जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणले करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा उल्लेख छ।
सम्झौता अनुसार बंगलादेश निर्यात् हुने विद्युत् नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेश पठाउने छ।
यसअघि गत असारमा नै सो सम्झौता गर्ने तयारी भएको थियो तर बंगलादेशमा बदलिएको राजनीतिक अवस्थापछि सम्झौतामा केही ढिलाइ भएको हो। बंलादेशमा भएको राजनीतिक परिवर्तनपछि पुनः बिजुली खरिद बिक्री सम्वन्धि प्रक्रिया अघि बढाइएको थियो।
यसअघि दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको छैटौँ बैठकले सम्झौता गर्ने निणर्य गरेको थियो। सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बंगलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो।
यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बंगलादेश र भारतबीच सहकार्यपूणर् सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी बैठकअगावै टुङ्गो लगाउने सहमति भएको छ।
नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर-भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ। प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ। भारतको मुजफ्फरपुर बंगलादेशलाई बेचिने बिजुलीका लागि मीटर जडान हुनेछ। प्रसारण लाइनको ढल्केबर-मुजफ्फरपुरबीचको प्राविधिक चुहावट भने प्राधिकरणले नै व्यहोर्ने छ।
बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। गत १३ साउनमा नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो। नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको थियो। सम्झौता कार्यान्वयन भएमा प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ।



