काठमाडौं। नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको छ।
संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमलाई ज्ञापन पत्र बुझाउँदै करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको हो।
मन्त्री डा. गौतमलाई ज्ञापन पत्र बुझाउन सङ्घका अध्यक्ष डा.अनिल कार्कीसहितको टोली मन्त्रालय पुगेको थियो।
ज्ञापनपत्र सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ बमोजिम करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महँगी भत्तालगायत अन्य सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ।
मन्त्रालयले नेपाल सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ जारी गरेको छ। तर, उक्त निर्देशिकामा महँगी भत्ताको विषयमा भने स्पष्ट रुपमा उल्लेख नभएको सङ्घले जनाएको छ।
चिकित्सकको मनोबल उच्च राख्न करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयले यथाशीघ्र निर्देशन दिन सङ्घको माग छ।
साथै महँगी एवं अन्य भत्ता उपलब्ध गराउने सम्बन्धमा आवश्यक नीति स्पष्ट गर्दै सबै सरकारी स्वास्थ्य संस्थामा एकरुपता हुने गरी कार्यान्वयन गर्न सङ्घको माग छ।



