काठमाडौं। त्रिवी शिक्षण अस्पताल (टिचिङ) ले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा वापतको सेवा बन्द गर्ने भएको छ।
स्वास्थ्य बीमाको सेवा दिएबापतको झन्डै ४० करोड रुपैयाँ रकम भुक्तानी बाँकी रहेको बताउँदै अस्पतालले सेवा बन्द गर्न सूचना जारी गरेको हो।
स्वास्थ्य बीमाको सेवाबापत मासिक करिब ५ करोड हाराहारी खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्रै दाबी स्वीकृत गरी बाँकी रकम अस्वीकृत गरेको सूचनामा जनाइएको छ।
“मासिक दुई करोड घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकाले यही माघ १ गतेदेखि बीमाका सम्पूर्ण उपचार सेवा बन्द गरिनेछ”, सूचनामा भनिएको छ।
अस्पताल र बीमा बोर्डले तोकेको दररेट पनि फरक परेको र बोर्डलाई अस्पतालको दररेट कायम गरिदिन गरेको आग्रह सुनुवाइ नभएको पनि अस्पतालको गुनासो छ।




