दार्चुला। दार्चुलास्थित जिल्ला अस्पताल विगत ३९ वर्षदेखि निमित्तकै भरमा चल्दै आएको छ।
स्थापनाको ३९ वर्ष बित्दा पनि दार्चुला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त छ। विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो।
अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रवीन्द्र भट्टराईका अनुसार अस्पतालमा दरबन्दीको जनशक्ति अभाव अझै छ। अस्पतालमा कायम २२ स्थायी दरबन्दीमध्ये हाल १३ जना मात्रै पदपूर्ति भएका छन्।
यो अस्पतालमा बिरामीको चाप भने बढ्दो छ। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि रेडियोग्राफर, एचए, कार्यालय सहयोगीसम्मका पद रिक्त छन्। बिरामीको चापका कारण स्वीकृत १५ शय्याको जिल्ला अस्पताललाई हाल ३५ शय्यामा सञ्चालन गरिएको छ। अस्पतालको नयाँ भवन निर्माणम ढिलाइ हुँदा झनै समस्या परिरहेको चिकित्सकहरु बताउँछन्।
अस्पतालका निमित्त कार्यालय प्रमुख डा. भट्टराईका अनुसार अस्पतालम आवश्यक भवन नहुँदा पनि जेनतेन काम चलाउ व्यवस्थापन गरिएको छ।
अहिले अस्पताल छात्रवृत्ति, करार, प्रदेश करार तथा विभिन्न संस्थाको सहयोगमा सञ्चालन भइरहेको उनले जानकारी दिए।
हाल अस्पतालमा ६३ दरबन्दीका लागि ९५ जना कार्यरत छन्। अहिलेको अवस्थामा हेर्दा एक जना डाक्टरले औसतमा २१५ जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ।
भारतसँग सीमा जोडिएको दार्चुलाको अस्पताल सुदृढीकरणका लागि सबै पक्षको सहयोग र समन्वय भयो भने अझै व्यवस्थित रुपमा सञ्चालन गर्न कुनै समस्या नहुने डा. भट्टराईको भनाइ छ।
जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भए पनि साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवन २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग रु. २६ करोड ४८ लाख २७ हजार लागतमा ठेक्का सम्झौता भएको थियो। विसं २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म सो लक्ष्य पूरा हुन सकेको छैन।
निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीका अनुसार हाल अस्पताल भवनको तेस्रो तला ढलानको काम भइरहेको छ। गत वर्ष २०८२ मङ्सिर मसान्तसम्म म्याद थप गरिएको भए पनि उक्त म्यादसमेत सकिएको उनको भनाइ छ । अहिले पनि काम जारी छ। भवनको तेस्रो तला ढलान गरिएको छ। भवन निर्माणका लागि म्याद थपको प्रक्रिया चलिरहेको निर्माण कम्पनीले जनाएको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठ भवन निर्माणको लागि दोस्रोपटक म्याद थपका लागि प्रक्रिया अघि बढेको बताए।
अस्पताल भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समेत समस्या देखिएको अस्पताल प्रशासने जनाएको छ।
दैनिक दुई सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको जिल्ला अस्पतालमा भवन नहुँदा अन्तरङ्ग (इन्डोर) सेवा सञ्चालनमा समस्या देखिएको छ।
अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भवन अभावका कारण प्रसूति सेवा, आइसियू, भिडियो एक्स–रे र अल्ट्रासाउन्ड जस्ता सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको छ। अहिलेकै अवस्थामा भवन निर्माण हुने हो भने अझै तीन वर्ष समय लाग्ने देखिएको छ।
अहिलेको अस्पताल कामचलाउ भवनमा सञ्चालन भइरहेको छ। चाँडै भवन निर्माण सकिएको भए जिल्ला अस्पतालको सेवा अझै प्रभावकारी हुने सूचना अधिकारी भट्टको भनाइ छ। साँघुरो कोठामा सञ्चालन भइरहेका अन्तरङ्ग सेवाका कारण बिरामीमा सङ्क्रमणजन्य रोग फैलिने जोखिमसमेत बढेको अस्पताल प्रशासनको भनाइ छ।



