काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले कान्ति बाल अस्पताललाई इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा विकास गर्न आफू सकारात्मक रहेको बताएकी छन्।
मंगलबार अस्पताल स्थापनाको ६४औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी मन्त्री डा. गौतमले अस्पताललाई इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा विकास गर्न आफू सकारात्मक रहेको बताइन।
उनले अस्पताललाई १००० बेडको अत्याधुनिक स्वास्थ्य संस्थाको रूपमा विस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयहरूका लागि मन्त्रालयले सकारात्मक भूमिका खेल्ने पनि स्पष्ट पारिन्।
सो क्रममा मन्त्री डा गौतमज्यूले अस्पताल भित्रका समस्याहरूलाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न पनि अस्पताल नेतृत्वलाई सुझाव तथा निर्देशन दिइन्।
उनलेे नयाँ आयोजनाहरू तत्काल अगाडि बढाउन नसकिने वर्तमान अवस्थाका बारेमा समेत जानकारी गराउँदै अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न आग्रह गरिन।
यस्तै उनले थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्याहरूमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।
अस्पतालका निर्देशक डा. पंकज रायले अस्पतालको भावी योजना सुनाउँदै अस्पताललाई इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा विकास गरी स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।
सो क्रममा डा. रायले अस्पताललाई एक हजार शैयाको अत्याधुनिक अस्पतालको रुपमा विकास गर्ने समेत योजना रहेको बताए।



