मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा पर्ने जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएकोमा ६ जनाकै सो अस्पतालमा नै मृत्यु भएको थियो। मृतक मध्ये अझै २ जनाको पहिचान खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले मृतक मध्ये अझै २ जनाको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए।
बोगटीले सुमोमा सवार घाइते तीन जनालाई भने उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको जानकारी दिए।
मृत्यु हुनेमा भारतको बिहार राज्य पटनाका वर्ष ४२ का रजनिस कुमार, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा २ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार छन्।
यस्तै, नाम, थर र वतन नखुलेको अन्दाजी ३६ वर्षीय र ४० वर्षीय पुरुष व्यक्तिलाई शरीरको विभिन्न भागमा चोट लागि उपचारका लागि अस्पताल ल्याइएकोमा उपचारकै क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
दुर्घटनामा घाइते हुनेमा सुमो चालक हेटौँडा ४ कर्रा चोकका अन्दाजी ४५ वर्षका गणेश थापा, हेटौँडा ४ का १२ वर्षीय अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका २ की २१ वर्षीया रिचा चौधरी छन्।
शरीरको विभिन्न भागमा चोट लागेका उनीहरुलाई आइतबार राति नै हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको हो।
काठमाडौँबाट हेटौँडा आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डको जुरिखेतमा आइतबार साँझ दुर्घटना भएको थियो।
उक्त सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको थियो।



