काठमाडौं। काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने भएको छ।
काठमाडौं महानगरको यो निर्णयले महानगरपालिकाका ७० वर्षमाथिका जेष्ठ नागरिक मात्र होइन उनीहरूका सन्ततिसमेत खुसी छन्। यो सेवा कहिलेबाट र कसरी दिइन्छ त? यो बारे भने सबैलाई चासो छ।
महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले ३२ वटै वडामा संचालनमा रहेका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले सेवा प्रदान गर्ने जानकारी दिए।
`आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्त ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण उहाँहरूको घरमै हुन्छ, महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत यो सेवा उपलब्ध गराइन्छ।´ केसीले भने।
उनका अनुसार पहिले केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छन्। त्यसपछि आवश्यक परेको अवस्थामा चिकित्सक पठाइन्छ।
केसीले उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न यो निर्णय भएको बताए।
महानगरका चिकित्सक डा दिवस न्यौपानका अनुसार स्टाफ नर्सले आआफ्नो ठाउँमा रहेका ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्य रिर्पोट तयार पार्ने छन्। सो बखत नै उच्च रक्तचाप, मधुमेहलगायत सामान्य परीक्षण गरिनेछ।
सो चेकजाँचपछि आवश्यक परेमा चिकित्सकले उपचार गर्ने र आवश्यक अन्य उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था गरिने छ।
डा न्यौपानेका अनुसार ३२ वटै वडाका स्टाफ नर्सलाई ज्येष्ठ नागरिकको उपचारका लागि तालिम दिइसकिएको छ। काठमाडौं महानगर भित्र ७० वर्षभन्दा माथिका करिब २३ हजार ज्येष्ठ नागरिक रहेको तथ्यांक छ।



