काठमाडौं। औषधि व्यवस्था विभागले म्याग्नस फर्माको एन्टिबायोटिक ‘लेभोफ्लक्स-५००’ ट्याब्लेट बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
औषधि ब्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै म्याग्नस फर्माद्वारा उत्पादित ब्याच नं ‘बिबी-२४००१’ को सो औषधी बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।
सो एन्टिबायोटिक औषधी ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग गरिन्छ।
सो औषधि २०२४ मार्चमा उत्पादन भएको र २०२६ फेब्रुअरीमा म्याद गुज्रने औषधि भएको सूचनामा उल्लेख छ।
विभागले सूचना मार्फत सो ब्याच नम्बर उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ।
`राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित ब्याच नं को औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीका लागि विभागले सूचना प्रकाशित गरिएको जनाएको छ।




