भरतपुर। नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन्।
भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धाँदली रहित ढङ्गबाट निर्वाचन हुने बताए।
उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए।
“आयोगले द्रुत गतिमा काम अघि बढाई रहेको छ, पछिल्लो आधार समानुपातिक बन्दसूचिमा ६४ वटा भन्दा बढी दलहरुले बन्दसूचि बुझाएका छन्।”
१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अबस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आएर प्रहरीको मनोवल उच्च भएको बताए।
सरकारले निर्वाचनका लागि जनशक्ति सहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई थियो। दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने,
“पाटीका झण्डासहित मतदान दिनुस् भन्न थालिएको छ। प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन्।”
जनस्तर देखि मिडिया सम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो।
पत्रकारहरुको एक प्रश्नमा उनले आफु अहिले नागरिक सरकारको प्रबक्ता भएको भन्दै अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे।
“चुनाब लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन।” उनले भने।
सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आफु त्यसमा केन्द्रित भएको बताए। सरकारले दलका कार्यालयहरु गएर भेटेर चुनावको वातावरण बनाई रहेको उनको भनाई थियो।
“म मन्त्री परिषदको सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने बिषयमा प्रधानमन्त्रीलाई सघाउने हो। निष्पक्ष, धाँदलीरहीत र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौ।”
सरकारले सुशासन कायम गर्ने कुरासँगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरु अघि वढाएको उनले बताए।
अर्को प्रसंगमा उनले अहिलेका मन्त्रीहरुले निर्वाचनमा उम्मेदवार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताए।
“चुनाब लडीराख्दा महत्वपूर्ण पदमा छ भने त्यो पदको दुरुपयोग गर्नु हुँदैन। एउटा व्यक्तिले म चुनाब लड्छु, जनतामा जान्छु, म उम्मेदवार बन्छु, देशको सेवा गर्छु भनेर भन्छ भने त उसलाई बार लगाउनु त भएन।´´ उनले भने।



