काठमाडौं। उच्च अदालत पाटनले नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन समितिले ५ पुस र ९ पुसमा सार्वजनिक गरेको नाम सूची सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
निर्वाचन समितिले उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका का उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी खारेज गरेको थियो। विधान र नियमवाली विपरित आफ्नो उम्मेदवारी खारेज गरिएको भन्दै शाही अदालत गएका थिए। उच्च अदालत पाटनले सोमबार डा. शाहीको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।
उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एकज इजलासले रिट निवेदन अन्तिम किनारा नभएसम्मका लागि निर्वाचन समितिले ५ पुस र ९ पुसमा सार्वजनिक गरेको नाम सूची सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
अन्तरिम आदेशसँगै उच्च अदालतले नेपाल चिकित्सक संघ, निर्वाचन समिति लगायत ६ व्यक्ति तथा संस्थाका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ।
यसअघि नेपाल चिकित्सक संघको निर्वाचन समितिले प्रक्रिया नमिलेको भन्दै डा. शाहीको उम्मेद्धारी खारेज गरेको थियो।
डा. शाहीका तर्फबाट अधिवक्ताद्वय किशोरकुमार विष्ट र अनुपम विष्ट, वरिष्ठ अधिवक्ताहरु हरि उप्रेती, रमेश बडाल, टीकाराम भट्टराई र भोजराज आचार्यले बहस गरेका थिए।



