काठमाडौं।गत शुक्रबार र शनिबार परेको वर्षाका कारण उत्पन्न विपद्जन्य घटनामा परेका १७ हजार भन्दा बढी नागरिकको उद्दार गरिएको छ।
मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ।
विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार भन्दा बढीको उद्दार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।
उनका अनुसार विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजीकार्य जारी रहेको छ भने विपद्का घटनामा परी मुलुकभर घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचार गर्ने गरी व्यवस्था मिलाइएको छ।
‘घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ, विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्र्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको थियो।’ प्रवक्ता तिवारीले भने।
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्याबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्दार गरिएको छ।
प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाटसमेत बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर उद्दार गरिएको छ। गृह मन्त्रालयका अनुसार खोज तथा उद्दारको काम अन्तिम चरणमा रहेको छ।
प्रवक्ता तिवारीले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकायसँग गृह मन्त्रालयले समन्वय गरिरहेको जानकारीसमेत दिए।
काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ। प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ। अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ।
मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ। कार्यदललाई प्रभावितहरुको तत्काल उद्दार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ ।



