काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्न पाउने भएका छन्।
निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्न पाउने जनाएको हो।
आयोगद्वारा प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाताले फागुन २१ गते हुने प्रतिनिसभाको निर्वाचनमा मतदान गर्न पाउने छन्।
निर्वाचन आयोगले सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिसकेको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो।
विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो।



