काठमाडौं। महामारी रोकथाम र जनधनको क्षतिलाई कम गर्न समुदायमा आधारित रोग निगरानी प्रणालीको शुभारम्भ गरिएको छ।
समयमै सूचना प्राप्त गरी तत्काल प्रतिकार्य गर्ने उद्देश्यले समुदायमा आधारित रोग निगरानी प्रणालीको शुभारम्भ गरिएको हो। अभियानको स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बुधबार शुभारम्भ गर्दै समयमानै जनस्वास्थ्यका घटना तथा रोगबारे सूचना प्राप्त गर्न सके जोखिम नियन्त्रणमा सहयोग पुग्ने बताइन्।
यो प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल “समुदायमा आधारित रोग निगरानी निर्देशिका–२०८२” समेत सार्वजनिक गरेको हो।
कार्यक्रममा मन्त्रालय र विभागका उच्च अधिकारीहरू, सातै प्रदेशका स्वास्थ्य सचिव तथा निर्देशकहरू, गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधि र साझेदार संस्थाहरूका प्रतिनिधिहरुको सहभागिता थियो।
संक्रामक रोगहरूको सम्भावित प्रकोपलाई न्यूनीकरण गर्न सुरु गरिएको यस प्रणाली अन्तर्गत अब आम नागरिकले आफ्नो समुदायमा कुनै पनि अनपेक्षित जनस्वास्थ्य घटनाहरू देखेमा वा थाहा पाएमा तत्काल नि:शुल्क हटलाइन नम्बर मार्फत जानकारी गराउन सक्ने छन्।
यसैगरी धेरै व्यक्तिहरू एकै पटक बिरामी परेमा, नौलो रोग देखिएमा, पशु-पंक्षीको अस्वाभाविक मृत्यु भएमा, वा ज्वरो, झाडापखाला र श्वासप्रश्वास जस्ता समस्याहरू आम स्तरमा देखिएमा तुरुन्त नि:शुल्क हटलाइन "हेलो स्वास्थ्य १११५" मा फोन गर्न वा नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न सकिने छ।
यसरी प्राप्त हुने सूचनाले तत्काल प्रतिकार्य गरी सम्भावित महामारी रोकथाम र जनधनको क्षति हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।



