काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनमा मनपरी र आर्थिक प्रलोभनमा आधारित गतिविधि बढ्दै गएको भन्दै बिरामीको इच्छा अनुसार वा प्रेषण गरिएको अस्पतालमा नै लैजान एम्बुलेन्स चालकहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ विपरीत कार्य गर्ने एम्बुलेन्स चालक तथा सेवा प्रदायकलाई कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले बुधबार जारी गरेको सूचनाअनुसार आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने सम्पूर्ण एम्बुलेन्स सेवाहरू प्रेषण केन्द्रमा आबद्ध भएर मात्र सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ।
तर, पछिल्लो समय केही एम्बुलेन्सले बिरामी वा घाइतेलाई आर्थिक प्रलोभनमा परेर बिरामीको इच्छा, अस्पतालको सिफारिस वा प्रेषण केन्द्रको निर्देशनबिनै निजी तथा महँगा अस्पतालमा लैजाने गरेको गुनासो मन्त्रालयमा प्राप्त भएको जनाइएको छ।
मन्त्रालयले आपतकालीन अवस्थामा परेका बिरामी तथा घाइतेलाई सहयोग गर्नुको सट्टा उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै निन्दनीय र दुखद कार्य भएको उल्लेख गरेको छ।
एम्बुलेन्स सेवा निर्देशिका, २०८२ बमोजिमका प्रावधान पालना नगरी आर्थिक लाभ लगायत अन्य मापदण्डविपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स सेवा प्रदायक तथा चालकलाई कानुनअनुसार कारबाही गरिने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ।




