काठमाडौं। सरकारले पछिल्लो समय प्रमुख राजनीतिक दलहरुसँगको वार्ता र संवादलातई तीब्रता दिएको छ।
जेन-जी आन्दोलनको साँढे तीन महिनापछि सरकार दलहरूसँग आमनेसामने भइरहेको छ। आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई सफल बनाउन सरकारले नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत राजनीतिक दलसँग चरणबद्ध वार्ता र छलफल गरिरहेको छ।
सोही प्रयोजनका निम्ति सरकारी वार्ता टोलीले मंगलबार प्रमुख तीन दलका कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गरेको छ। सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर निर्वाचनको वातावरणका लागि वार्ता र संवाद गरेको हो।
उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजगक्तवमा गठित समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन्।
जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त ती दलका कार्यालयको अनुगमनकासाथै दलहरुसँग निर्वाचनको माहोल बनाउनेबारे कुराकानी भएको हो।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालय अवलोकन गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख दलका मागका विषयमा सरकार गम्भीर रहेको बताएका छन्। उनीहरू सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगी त्यहाँ भएको क्षतिको विवरण लिनुका साथै दलका प्रतिनिधिसँग छलफल गरेका थिए।
सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उनीहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
तीनवटै राजनीतिक दलको कार्यालय अनुगमन र सम्बन्धित दलका नेताहरुसँगको संवादपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनाउनका लागि गरिएको दलहरुसँगको वार्ता र सम्बाद उपलब्धीमूलक रहेको र यसले निर्वाचनलाई सुनिश्चित गरेको बताए।
सरकार इमान्दारीकासाथ निर्वाचन गराउन खोजिरहेको छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्न आफूहरू राजनीतिक दलका कार्यायले पुगेर संवाद गरेको उनको भनाइ थियो।
सञ्चारमन्त्री खरेलले भने, “निर्वाचनका लागि यो राजनीतिक दललाई सकारात्मक दबाब हो, हामी चुनाव चाहन्छौँ, चुनावको तयारी यो गरेका छौँ भन्ने स्पष्ट सन्देश हो।”
मंगलबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितमा प्रधानमन्त्री सुशीला कार्की तथा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक भएको थियो।
सो बैठकले फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।



