काठमाडौं। सरकारले यो वर्ष साँढे तीन लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप दिने तयारी गरेको छ।
कक्षा ६ मा अध्ययन गर्दै गरेका किशोरी वा कुनै कारणले स्कुल बाहिर रहेका १० वर्ष उमेर समुहका किशोरीलाई सरकारले खोप अभियानका लागि लक्षित वर्गमा राखेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। सो खोप अभियानबारे सोमबार पत्रकार अन्तरक्रिया आयोजना गर्दै जानकारी गराइएको हो।
कार्यक्रममा परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले कक्षा ६ मा पढ्दै गरेका वा कुनै पनि कारणले विद्यालय बाहिर रहेका तर १० वर्ष उमेर पुगेका देशभरका साँढे तीन लाख किशोरीलाई खोप प्रदान गरिने जानकारी दिए।
माघको अन्तिम सातादेखि खोप अभियान सुरु गरिने र फागुन पहिलो साता सम्म अभियान संचालन गरिने तयारी छ। नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपीभी खोप कार्यक्रम सञ्चान हुने डा. गौतमले जानकारी दिए।
खोप कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको डा. गौतम बताउँछन्। खोप अभियानको सुभारम्भ मिति छिट्टै सार्वजनिक गरिने उनी बताउँछन्।
गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई यो खोप दिएको थियो। गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने तयारी छ।
“विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिले एक मात्रा खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनेको छ, यसपटक एक मात्रा मात्र दिन लागेका हौँ”, डा. गौतमले भने।
उनले कुनै भ्रम र गलत सूचनामा विश्वास नगरी ढुक्क भएर खोप लगाउन लक्षित वर्गलाई आग्रह समेत गरे।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले विश्व स्वास्थ्य संगठनले खोपको गुणस्तर प्रमाणीकरण गरेपछि मात्र खोप प्रयोग योग्य हुने भएकोले अलमलमा नपरी एचपिभी खोप लगाउन आग्रह गरे।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा औसतमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको बताइन्छ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो। सरकारले हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ।



