काठमाडौं। नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक औसतमा चार जनाको मृत्युु हुने गरेको पाइएको छ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरको मृत्युको कारण मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको तथ्यांकले देखाएको हो।
परिवार कल्याण महाशाखाले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा प्रस्तुत गरिएको तथ्यांकअनुसार नेपालमा औसतमा दैनिक चार जनाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरिएको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार दैनिक ६ जना महिलामा पाठेघर क्यान्सर पोजेटिभ देखिने गरेको छ।
यसैगरी नेपालमा हरेक वर्ष २१ सय ६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान छ। यस्तै हरेक वर्ष १३ सय १३ जना महिलाको यो रोगका कारण मृत्यु हुने गरेको देखिएको छ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो। एचपिभी संक्रमण पटकपटक २० वर्षसम्म भएर संक्रमण रहिरहेमा क्यान्सर हुन सक्छ।

पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्कपछि योनीबाट पानी आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रुपमा रगत पुग्ने, धेरै रगत पुग्ने, रक्त अल्पता हुने र कमजोर महसुस हुने गर्दछ।
यो रोगको सुरुको अवस्थामा कुनै लक्षण नदेखिने र महिलाहरू अन्तिममा मात्र उपचारमा पुग्ने गरेको पाइएको डा गौतमले बताए।



