काठमाडौं। जापानीज इन्सेफ्लाइटिसबाट पछिल्ला केही वर्षयता हरेक वर्ष मृत्यु बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।
परिवार कल्याण महाशाखाले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा प्रस्तुत गरिएको तथ्यांकअनुसार नेपालमा पछिल्ला केही वर्षयता जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या बढेको देखिएको हो।
तथ्यांक अनुसार सन् २०१७ मा जापानीज इन्सेफ्लाइटिसबाट १ जनाको मृत्यु भएको थियो भने २०२३ देखि मृत्युको दर उकालो लागेको पाइएको छ।
सो वर्ष नेपालमा जापानीज इन्सेफ्लाइटिसबाट ७ जनाको मृत्यु भएको देखिन्छ। यसैगरी सन् २०२४ मा २५ जना र सन् २०२५ मा ३५ जनाको जापानीज इन्सेफ्लाइटिसबाट मृत्युु भएको तथ्यांक छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार जापानीज इन्सेफ्लाइटिसबाट हुने संक्रमण तराइका जिल्लाबाट बढी रिपोर्ट भएको छ।

२०२५ को डिसेम्बर १० सम्मको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा जापानीज इन्सेफ्लाइटिसबाट ११ जनाको मृत्यु भएको डा गौतमले जानकारी दिए।
महामारीको हिसाबले हेर्दा सबैभन्दा बढी महामारी चितवनमा देखिएको डा गौतमले जानकारी दिए। उनका अनुसार कृषि पेशामा आबद्ध किसानहरू जापानीज इन्सेफ्लाइटिसबाट बढी प्रभावित भएका छन्।
डा गौतमका अनुसार जापानीज इन्सेफ्लाइटिस लागेकाहरुको विवरण हेर्दा १५ वर्ष उमेर भन्दा माथिका ७० प्रतिशत ब्यक्तिलाई यो रोगको संक्रमण भएको पाइएको छ। त्यसमध्ये पनि ४० वर्षमाथिका ब्यक्तिलाई बढी असर गरेको देखिएको छ।
मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन्। मृत्यु भएका मध्ये ९ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको डा गौतमले जानकारी दिए।
जापानीज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग धानखेती, सुँगुर पालन गर्ने तथा हाँस पालन गर्ने कृषकलाई बढी लाग्ने गरेको पाइएको डा गौतमले जानकारी दिए। पानी जम्ने ठाउँमा ‘क्युलेक्स’ लामखुट्टेले फुल पार्ने गर्दछ।



