बागलुङ। नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको पाइएको छ। नेपालमा नसर्ने रोगको प्रमुख कारक सुर्तिजन्य पदार्थ रहेको र झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोषको कार्यालयको आयोजनामा बाग्लुङमा आयोजित ‘सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ विषयक अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थ नेपालमा एक साइलेन्ट किलरका रुपमा रहेको र यसको सेवनका कारण वार्षिक ३९ हजार दुई सय जनाको ज्यान जाने गरेको उल्लेख गरे।
उनले नेपालमा नसर्ने रोगको प्रमुख कारक सुर्तिजन्य पदार्थ भएको बताउँदै समाजका सबै पक्ष, तिनै तहका सरकार र विशेष गरी स्थानीय सरकार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका नीति-नियमहरूको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्ने बताए।

उनले धुम्रपान गर्नेहरुमा उच्च रक्तचाप, सुगर, क्यान्सर स्वासप्रस्वास तथा मुटु रोगको जोखिम बढी देखिने गरेको बताउँदै जनचेतना अभिबृद्धिमा पनि जोड दिनु पर्ने बताए।
सुर्तिजन्य पदार्थबाट सङ्कलित बजेट स्वास्थ्य मन्त्रालयले विशेष गरी क्यान्सर रोगीको उपचारमा खर्च गर्ने गरेको उनको दाबी थियो।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाईएका नीति नियमको पूर्ण पालना गर्दै यसको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तिजन्य पदार्थले आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा क्षति पुर्याउने बताए।
यस्तै वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि वर्षेनी ४५ अर्बभन्दा धेरै खर्च हुने गरेको उल्लेख गरे।
अन्तरक्रिया कार्यक्रममा बागलुङका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिले सुर्तिजन्य सेवन रोक्न सहकार्य जरुरी रहेको बताए।




