काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुको देशका ८० वटा अस्पतालमा उपचार भएको विवरण स्वास्थ्य मन्त्रालयले तयार गरेको छ।
आन्दोलनका क्रममा ती ८० वटा अस्पतालमा २५ सय २३ जनाको उपचार भएको विवरण अस्पतालहरुले मन्त्रालयमा पठाएका छन्। अन्य घाइते के कतिको उपचार भयो र उनीहरूको उपचार वापतको रकम कति हो भन्ने बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरण पाएको छैन।
भाद्र २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार, रगत व्यवस्थापन र एम्बुलेन्स सेवा प्रदान गर्न भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भाद्र २३ गते पत्राचार गरिएको थियो। साथै, २०८२ भाद्र ३० गते सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई सबै जेन-जी घाइतेहरुको उपचार निःशुल्क गर्न मन्त्रिपरिषद् बाट निर्णय भएको थियो। सोही निर्णय अनुसार अस्पतालहरुले उपचार गर्दै आएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ती ८० अस्पताल मध्ये जम्मा २३ वटा अस्पतालबाट मात्र उपचार खर्चको शोधभर्नाको लागि मन्त्रालयमा विवरण प्राप्त भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले बाँकी अस्पतालहरुबाट विवरण आउन बाँकी रहेको भन्दै पठाउन पुन: पुस १० गतेभित्र पठाउन ताकेता गरेको विज्ञप्तिमा उल्लेख छ। जेन-जी आन्दोलनका घाइते बिरामी, आफ्न्तबाट गुनासो आइरहकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
जेन-जी घाइते बिरामीको निःशुल्क उपचार गरेका अस्पतालहरूले हालसम्म मन्त्रालयमा घाइते बिरामी तथा उपचारको विवरण नपठाएको भएमा साथै घाइते बिरामीको विवरण फरक परेको वा छुटेको भएमा आफ्नो दर्ता रजिस्टरको रेकर्ड रुजु गरी आधिकारिक पत्र सहित सो मन्त्रालयको इमेलमार्फत पठाउन भनेको छ ।
निःशुल्क उपचार गरेका अस्पतालले मङ्सिर मसान्तसम्मको उपचारमा लागेको खर्चको विस्तृत विवरण सोधभर्ना लागि पुस १० गतेसम्म मन्त्रालयमा पठाउनु तथा पुस महिनादेखि मासिक रुपमा पठाउन पर्ने विज्ञप्तिमा उल्लेख छ।
निःशुल्क उपचार गर्ने स्वघोषणा पछि पूर्ण रुपमा निःशुल्क उपचार गरेका अस्पतालहरुले पनि सोको विवरण मन्त्रालयमा पुस १० गतेभित्र पठाउन मन्त्रालयको अनुरोध छ।
मन्त्रालयले उपचारका क्रममा औषधी र उपचारमा व्यक्तिगत खर्च भएकाको हकमा उपचार गरेको अस्पतालले नै घाइतेहरुलाई खर्च प्रदान गर्न तथा सोको सोधभर्नाका लागि विस्तृत विवरण (बिल सहित) प्रमाणित गरी मन्त्रालयमा पुस सात गतेभित्र पेश गर्न भनेको छ।
यस्तै असोज १२ गतेदेखि १६ वटा संघिय अस्पताल तथा प्रतिष्ठानमा जेन-जी घाइते बिरामीहरुको फलोअपका लागि सरकारले सञ्चालन गरेको जेन-जी क्लिनिकमार्फत स्वास्थ्य सेवा लिनुहुन तथा जेन-जी घाइतेहरुको स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउन सबै सरकारी अस्पतालले फलोअपमा आउने घाइते बिरामीको परिपत्र अनिवार्य हेरी नि:शुल्क उपचार गर्न पनि आग्रह गरेको छ।
जेन-जी घाइतेको परिचयपत्र लिएकाहरुले मात्र स्वास्थ्य उपचार, राहत र वर्गीकरणका समावेश हुने भएकाले जेन-जी घाइते सबैलाई परिचयपत्रका लागि गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ।





