भक्तपुर। भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी डा. भुवन पौडेलले सम्हालेका छन्।
पौडेलले बुधबार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पुगेर जिम्मेवारी सम्हालेका हुन्। वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले पौडेललाई मन्त्री स्तरीय निर्णय गर्दै गत मंसिर २५ गते केन्द्रको निर्देशकको जिम्मेवारी दिएकी थिइन्।
केन्द्रको निर्देशक नियुक्त डा. पौडेल ११औं तहका चिकित्सक हुन्। उनी गत कार्तिक २४ गते मात्र बढुवा भएका थिए। बढुवा भएको एक महिनामा नै उनले केन्द्रको निर्देशक जस्तो महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन्।
यसअघि केन्द्रमा निर्देशक रहेका डा. श्रीराम तिवारीलाई भने मन्त्री गौतमले वीर अस्पतालमा सरुवा गरेकी थिइन्।



