काठमाडौं। विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च पुगेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेसका केही निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा रिट ल्याएको बताए।उनका अनुसार सो रिट निवेदन प्राप्त भएको सोमबार छलफलपछि थप प्रक्रिया अगाडि बढ्ने छ।
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुनको वारेस लिएर पूर्व महान्यायाधिवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका हुन्।
कांग्रेस नेता घिमिरेले वारेसमार्फत पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको जानकारी दिए।
प्रतिनिधिसभा विघटनसम्बन्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन रहेको अदालतले जनाएको छ।



