काठमाडौं।नेपालको पानीबाट उत्पादित बिजुली तेस्रो मुलुक निर्यात हुने भएको छ। नेपालले भारतपछि बंगलादेशलाई नेपालको बिजुली बेच्ने गरी आज सम्झौता हुँदै छ। यसअघि नेपालबाट भारतमा मात्रै बिजुली निर्यात गरिएको थियो।
सो सम्वन्धि सम्झौता गर्न बंगलादेशका अधिकारीहरु नेपाल आइसकेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा विद्युत् खरिद बिक्री सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर हुने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिएका हुन्।
‘आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ, विद्युत निर्यातका लागि लामो समयदेखिको प्रयास सफल हुन लागेको छ,’ प्रवक्ता चटौतले भने।
नेपालले पहिलो चरणमा ४० मेगावाट बिजुली बंगलादेश निर्यात् गर्ने छ। यसरी निर्यात् हुने विद्युत् नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेश पठाउने छ भने प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गरिने छ।
यसअघि गत असारमा नै सो सम्झौता गर्ने तयारी भएको थियो तर बंगलादेशमा बदलिएको राजनीतिक अवस्थापछि सम्झौतामा केही ढिलाइ भएको हो। बंलादेशमा भएको राजनीतिक परिवर्तनपछि पुनः बिजुली खरिद बिक्री सम्वन्धि प्रक्रिया अघि बढाइएको थियो।
उर्जा मन्त्रालयका प्रवक्ता चटौतका अनुसार दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको छैटौँ बैठकले सम्झौता गर्ने निर्णय गरेको थियो। सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बंगलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो।
आज नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनेछ।
यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी बैठकअगावै टुङ्गो लगाउने सहमति भएको छ।
नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ। प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ। प्रसारण लाइनको ढल्केबर–मुजफ्फरपुरबीचको प्राविधिक चुहावट भने प्राधिकरणले नै व्यहोर्ने छ।
बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। गत १३ साउनमा नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो। नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको थियो। सम्झौता कार्यान्वयन भएमा प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ।



