काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरको निरीक्षण गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारी आइतबार क्षतिग्रस्त सिंहदरबारको निरीक्षणका लागि सिंहदरबार परिसर पुगेकी थिइन्। सो क्रममा उनले क्षतिग्रस्त संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गरिन्।
क्षतिग्रस्त संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने अपेक्षा गरेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामनासमेत गरिन्। त्यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै सिंहदरबार परिसरका कार्यालयहरुको अलोकन गराएका थिए।
अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेकी थिइन्। पूर्वराष्ट्रपति भण्डारीको साथमा सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिव लगायत सहभागी थिए।



