काठमाडौं। फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदैछ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणालीमा सहभागी हुन चाहने दलहरुलाई आज आवेदन दिनका लागि समय निर्धारण गरेको हो। समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले प्राप्त गर्ने मतका आधारमा दलले बुझाएका सुचीबाट उम्मेदवार निर्वाचित हुन्छन्।
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ।
समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने आयोगले मंसिर २४ गते प्रकाशित गरिने जनाएको छ।
यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्द सूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ।
यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि भने आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भइसकेको छ। सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ।
प्रत्यक्ष तर्फका उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ। आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्।
यस्तै माघ ९ गतेका दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम निर्वाचन आयोगले प्रकाशित गरिसकेको छ।



