बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पित हुने आचरण र चरित्र पनि हो : राष्ट्रपति

लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पित हुने आचरण र चरित्र पनि हो : राष्ट्रपति

images
२०८२ मंसिर २० गते, शनिवार
२०८२ मंसिर २० गते, शनिवार
  • ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।

    images

    राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उद्घाटन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

    images

    “पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता हो, यसका लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु”, उनले भने।

    राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली  पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

    “लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली हो, र यो लोकहितमा समर्पित हुने असल आचरण  र चरित्र पनि हो, यो मर्म र भावना बुझेर अघि बढ्ने  नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुशी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ”, राष्ट्रपति पौडेलले भने।

    उनले नयाँ पुस्ताको चाहना पनि सेवा प्रवाहमा चुस्ततासहित सुशासनको माध्यमबाट मुलुकको विकास गर्दै यहि व्यवस्थामा मात्र हाम्रो भविष्य सुरक्षित छ भनेर जनतामा भरोसा जागृत गराउनुपर्दछ भन्ने नै भएको बताए।

    “नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भने।

    उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पुरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन पनि आव्हान गरे।

    उनले नागरिकका चाहना पूरा गर्न विशेषत स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

    “संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ, नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्दछ, त्यसैले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्दछ”,  राष्ट्रपति पौडेलले भने।

    विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान हो भन्दै राष्ट्रपति पौडेलले सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुर महानगरले सम्पदा पुननिर्माण तथा संरक्षणमा गरेको अथक प्रयाससँगै हासिल गरेको उपलब्धिले यस क्षेत्रमा नयाँ आशा जगाएको उल्लेख गरे।

    “ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तनले अरुलाई पनि प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु, महानगरपालिका भित्र पुननिर्माण भइरहेका अन्य मठमन्दिर, देवालय, शिवालय, ऐतिहासिक पोखरीहरू यसका उदाहरण हुन्”, राष्ट्रपति पौडेलले भने।

    यसैगरी स्मार्ट स्ट्रिट लाईट, ट्रान्सपरेन्ट ग्रिन फेन्स, साइकल लेन, इन्टेलिजेन्ट ट्राफिक लाईट, लिफ्टसहितको  आकाशेपुल, जीपीएसमामा आधारित घर नम्बरजस्ता विकासका अवयवहरूको शुरुवात गरी उच्च गुणस्तरयुक्त सेवाको व्यवस्थापनमा जुट्नु सुखद पक्ष रहेको उनको भनाई थियो।

    उनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित यो नगरले सेवा प्रवाह र विकास निर्माणको क्षेत्रमा गरेका अभ्यास, पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, विपद् व्यवस्थापन, आगलागी नियन्त्रण, सामाजिक एवम् आर्थिक विकास र सुशासन एवम हरियाली प्रवर्द्धनमा गरेका कामहरु सराहनीय रहेको चर्चा गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend