काठमाडौं। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि कोही पनि ब्यक्तिले इच्छा नदेखाएको पाइएको छ।
विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दुई पटक सूचना प्रकाशित गर्दा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेको छैन।
उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेको थियो। सो समय भित्र कसैले पनि उपकुलपति बन्नका लागि दरखास्त नदिएका हुन्।
त्यसपछि समय थप गरी मंसिर ५ गतेसम्म पुन: आवेदन माग्दै म्याद बढाएको थियो। तर सो समय भित्र पनि कसैको दरखास्त परेको छैन।
“उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस्। वा मलाई नै सम्पर्क गर्नुहोस्”, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शुक्रबार सार्वजनिक आह्वान गरेका छन्।
संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।



