जनकपुर। मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज दाबी पेश हुँदैछ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकार गठनका आह्वान गरेपछि मधेस प्रदेशमा दलहरूको दौडधुप बढेको छ। प्रदेशप्रमुखबाट संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान भइसकेको छ।
बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले राजनीनामा दिएलगत्तै प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुख कर्णले संविधानको सो धारा अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन्। यो समय आज सकिंदैछ।
सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका थिए।
तत्कालीन प्रदेश प्रमुखले यादवलाई होटलमा मुख्यमन्त्रीको सपथ गराएपछि चौतर्फी विरोध भएको थियो। मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतसम्म पुगेपछि अदालतले बाटो देखाइदिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।



