बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्यमन्त्रीको अनुगमन भ्रमण : डायरीमा गुनासा

स्वास्थ्यमन्त्रीको अनुगमन भ्रमण : डायरीमा गुनासा

images
२०८२ मंसिर १९ गते, शुक्रवार
२०८२ मंसिर १९ गते, शुक्रवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम केही समययता अस्पतालको सेवा सुधारका लागि भन्दै अनुगमनमा छिन्। मन्त्री गौतम अनुगमन तथा निरीक्षणका लागि भन्दै पश्चिमका रुपन्देही र कपिलवस्तु जिल्लाबाट पुर्वका केही जिल्ला पुगिसकेकी छिन्।

    images

    मन्त्री गौतम आफू मात्र होइन उनले मन्त्रालयका सचिव डा. विकास देवकोटालाई पनि सँगै लिएर हिडेकी छिन्। उनीहरू जहाँ पुग्छन् गुनासो सुन्छन, डायरीमा टिप्छन, निर्देशन दिन्छन र फर्किन्छन। स्वास्थ्य मन्त्रालयमा औषधि खरिद, उपकरण खरिद र स्वास्थ्य बीमाको गुनासो तथा अनियमितताका विषयले प्राय: मन्त्रीहरुलाई पिरोल्ने गरेको छ। मन्त्री गौतमको यो अनुगमन तथा गुनासो सुन्ने भनिएको भ्रमणको मुद्दा पनि अहिले यही छ।

    images

    मन्त्री शर्मा स्वास्थ्य सचिव देवकोटालाई लिएर मंसिर १७ गते गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुगिन। उनले त्यहाँ स्थलगत अनुगमन र निरीक्षण गरेको स्वास्थ्य मन्त्रालय बताउँछ।

    सो क्रममा अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गर्दै अस्पतालको स्वास्थ्य सेवालाई प्रवाहलाई प्रभावकारी बनाउने, अस्पताल सुधार गर्ने तथा अस्पताल व्यवस्थापनलाई सुदृढ गर्ने विषयमा उनले निर्देशन दिएकी थिइन्। यस्तै त्यहाँ सुनाइएका समस्या र गुनासा पनि मन्त्री र सचिवले आफ्ना डायरीमा उतारेका छन्। मन्त्री गौतम जहाँ पुगेकी छिन् उनको निर्देशन प्रायः यही हो। 

    `सेवाग्राहीहरुबाट कुनै पनि गुनासो नआउने गरी गरी काम गर्न आग्रह गर्छु, म यहाँका समस्या सुन्न न हेर्न आएको हुँ, मन्त्रालयले समस्या देखिएका विषयमा समाधान गर्ने गरेर योजना बनाउँने गरेर काम गरिरहेको छ, तपाइँहरु सेवालाई प्रभावकारी बनाउने गरेर लाग्नुस।´ मन्त्री गौतमले अनुगमन निरिक्षणका क्रममा भनिन्।

    सोही दिन उनी राजबिराजबाट कोशी अस्पताल विराटनगरको अनुगमन तथा निरीक्षणमा पुगिन। सो क्रममा उनले अस्पतालका पदाधिकारीहरूसँग अस्पतालका समस्याहरु तथा आवश्यकता तथा अस्पतालले सम्पादन गरेको कामहरुका बारे चासो राखिन। गुनासो सुनिन, फर्किइन।

    त्यसअघि उनी मंसिर १६ गते  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेकी थिइन्। त्यहासमेत निरीक्षणको क्रममा मन्त्री गौतमले प्रतिष्ठानका पदाधिकारीहरूसँग प्रतिष्ठानको स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आन्तरिक व्यवस्थापनलाई सुदृढ गर्ने,  र जनशक्ति उत्पादन, सिनेटको बैठकको तयारी लगायतका विषयहरूमा विस्तृत छलफल गरेकी थिइन्। यस्तै उनले आम सेवाग्राहीका गुनासोहरू समयमै सम्बोधन गर्ने गरी काम गर्न प्रतिष्ठानलाई आवश्यक निर्देशन समेत दिएकी थिइन्।

    धरान पुग्नुअघि मन्त्री गौतम संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका विशिष्ट पदाधिकारीसहित कपिलवस्तु र रूपन्देही जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेकी थिइन्।

    मन्त्री गौतम यसअघि नै मंसिर १ गते अनुगमनकै लागि देशकै सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पताल समेत पुगिसकेकी छिन्।

    सो अनुगमनका क्रममा उनले बिरामीको चापलाई ध्यानमा राख्न, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा रहेको सिटी स्क्यानलाई तत्काल वीर अस्पतालमा ल्याउन, राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरी वीर अस्पतालका बिग्रेको मेडिकल तथा अन्य उपकरणहरूको तत्काल मर्मत गर्न र बिमा फार्मेसीमा सूचीकृत सबै औषधिहरु  वीर अस्पतालको फार्मेसीमा उपलब्ध गराउन निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    उनी अनुगमनकै लागि महाराजगन्जस्थित कान्ति बाल अस्पताल र बुढानिलकण्ठ स्थित राष्ट्रिय आयुर्वेद, पंचकर्म तथा योग केन्द्रको समेत अनुगमन गरिसकेकी छिन्।

    देशका विभिन्न स्थानका अस्पतालहरुमा अनुगमन तथा निरीक्षणका लागि पुग्दै गर्दा मन्त्री गौतम समक्ष अस्पतालका साधन स्रोत र पुर्वाधारका विषयमा सबै भन्दा बढी गुनासा आएका छन्। यसैगरी जनशक्ति अभाव, जनशक्तिको ब्यवस्थापनमा आवश्यक सेवा सुविधा लगायतका विषय पनि मन्त्री र सचिवका डायरीमा टिपिएका छन्। अब अनुगमनका क्रममा मन्त्री गौतमले भने जस्तै अस्पतालको स्वास्थ्य सेवालाई प्रवाहलाई प्रभावकारी बनाउने, अस्पताल सुधार गर्ने तथा अस्पताल व्यवस्थापनलाई सुदृढ गर्ने विषयमा उनको भ्रमणको सार्थकताको पर्खाइ छ। सँगै जनशक्ति र सेवासुविधा थप हुँदा गुनासो कम हुने अपेक्षा पनि छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend