काठमाडौं। सरकारले भाद्र २३ लाई हरेक वर्ष ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भाद्र २३ गतेलाई हरेक वर्ष ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय भएको जानकारी दिए।
गत भाद्र २३ र २४ मा जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई सरकारले यसअघिनै शहीद घोषणा गरिसकेको छ।
मन्त्री खरेलका अनुसार ती व्यक्तिका परिवारलाई सरकारले फोटोसहितको विशेष परिचयपत्र समेत उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कुनै पनि कारोबार बैंकिङ माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था गरेको छ।
यसैगरी सरकारले नेपाल प्रेस काउन्सिलको नयाँ अध्यक्षमा डा. कुमार शर्मा आचार्य लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। यस्तै विश्वविद्यालय अनुदान आयोग (यूजीसी)का सचिवमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरि मन्त्रिपरिषद्ले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने, राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गर्ने र श्रीलंकामा हालैको भीषण वर्षाका कारण आएको बाढी तथा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको सन्दर्भमा नेपाल सरकारले २ लाख अमेरिकी डलर सहायता प्रदान गर्ने लगायतका निर्णय गरेको छ।



