काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल कायम भएको बताएको छ।
आयोगको आइतबार बसेको बैठकले देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पहिले कायम रहेका १० हजार ८९२ मतदानस्थलमा समग्रतामा ७५ मतदानस्थल थप गरिएको हो।
आयोगको आइतबारको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको हो। यस्तै बैठकले मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज समेत गरेको छ। साविकमा कायम रहेकाको संख्या घटाउँदा हाल थप भएको मतदानस्थलको संख्या ७५ वटा हुन आउँछ।
आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ।
मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदान स्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको पनि आयोगले जनाएको छ।



