काठमाडौं। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले १२५ वटा राजनीतिक दलहरूलाई निर्वाचनका बारेमा छलफल गर्नभन्दै एकै ठाउँमा राखिन्। त्यसैबेला बाराको सिमरामा एउटा राजनीतिक दल नेकपा एमाले विरुद्ध प्रदर्शन जारी थियो। नेकपा एमालेका नेताहरु सिमरा जाने भएपछि त्यहाँ जेन-जी युवाहरूले प्रदर्शन गरे। प्रदर्शनपछि प्रहरीले बल नै प्रयोग गर्यो। र कर्फ्युसम्म लाग्ने अवस्था बन्यो।
सिंहदरबार भित्र भने प्रधानमन्त्रीले दलहरूसँग निर्वाचन तोकिएको मितिमा गर्न दलहरुको सहयोग माग्दै थिइन्। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा सहितका गरि १२५ दललाई डाकिएको बैठकमा दलका नेताहरूले भने चुनाव गर्न सरकारले नै वातावरण बनाउनु पर्ने बताए।
उनीहरुले राजनीतिक दलका नेताहरूलाई सभासम्मेलनमा जान रोक लगाउने र अराजक गतिविधि भए चुनाब कसरी हुन्छ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न पनि गरे।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले नै निर्वाचनको वातावरण बनाउनु पर्ने बताए।
`चुनाबको वातावरण सरकारले बनाओस, चुनाब हुन्छ, तर दललाई निषेध गर्ने यही अवस्थामा असम्भव छ, विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीले ध्यान दिनुहोला।´ कांग्रेस नेता महतले छलफलका क्रममा भने।
छलफलमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन नसकेको धारणा राखे।
उनले अन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा निर्वाचनका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गरेका थिए। यस्तै निषेधको राजनीतिले चुनाबको वातावरण नबन्ने धारणा समेत उनले राखेका थिए।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा निर्वाचन केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गरे।
प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी अन्य राजनीतिक दलका प्रतिनिधिहरुलेसमेत सरकारको जिम्मेवारी र भुमिका बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निषेधको राजनीति लोकतान्त्रिक संस्कारको विरुद्ध हुने भन्दै सबै पक्ष मिलेरै निर्वाचनका माध्यमबाट देशलाई निकास दिनु पर्ने धारणा राखेकी थिइन्।



