काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेरेर घर फर्किने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने गरि रुट सार्वजनिक गरेको छ।
क्यानले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा यो ब्यवस्था गरिएको जनाएको छ। सो बारे बुधबार सामाजिक सञ्जालमार्फत क्यानले जानकारी दिएको हो।
निःशुल्क बस सेवा उपलब्ध गराउन क्यानलाई मुस्कान ट्राभल्सले साथ दिएको छ।
“नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताज्यूको पहलमा क्रिकेट खेल हेरेर फर्किने, आफ्नो सवारी साधन नभएका विशेषगरी महिला, वृद्ध र अशक्तहरूको लागि निःशुल्क बससेवा सुचारु हुने भएको छ। यसको लागि मुस्कान ट्राभल्ससँग सहकार्य रहेको छ। सेवा आजदेखि खेल अवधिसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म उपलब्ध हुनेछ,” क्यानले भनेको छ।
यसैगरी युवा तथा खेलकुद मन्त्री गुप्ताले समेत आफ्नो सामाजिक संजाल फेसबुकमा निःशुल्क बस सेवा बारे लेखेका छन्।
मन्त्री गुप्ताले खेल हेरेर घर फर्कने दर्शकहरूलाई रातको समयमा र चिसोको मौसममा सवारीसाधनको असुविधा भएको गुनासो मन्त्रालयको गुनासो शाखामा आएपछि युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा सो ब्यवस्था गरिएको भनेका छन्।
यस्तो छ बसको रुट
रुट १: टीयू गेट – स्वयम्भू – बालाजु
रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल
रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर



