बारा। बारा जिल्लाको सिमरा विमानस्थल नजिक जेन-जी प्रदर्शनकारी र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएपछि बारा जिल्लामा कर्फ्यु लगाइएको छ।
बुधबार बारामा आयोजना हुने नेकपा एमालेको कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा जाँदै थिए। सो क्रममा सिमरामा जेन-जी युवाहरूले एमाले र बस्नेत विरुद्ध नारावाजी गर्दै प्रदर्शन सुरु गरेका थिए।
प्रदर्शन बढ्दै गएपछि सिमरा विमानस्थलमा तोडफोड समेत भएको थियो। प्रदर्शन नरोकिएपछि सिमरा उढ्न तयार भएको बुद्ध एयरको विमान उढ्नै लाग्दा यात्रुलाई ओरालेर उडान रोकिएको थियो।
प्रदशनकै क्रममा प्रहरीमाथि आक्रमण हुन थालेपछि स्थानीय प्रशासनले बारामा कर्फ्यु लगाएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले आदेशमा भनेको छ। आज दिउँसो १२:३० देखि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश कायम हुनेछ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको उक्त कर्फ्यु आदेशमा जितपुर सिमरा उपमहानगरपालिकाभित्र गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँबायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटरसम्म कसैले आवतजावत गर्न नपाउने गरी कर्फ्यू लागु हुने उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार "जेन जी युवाहरूको प्रदर्शन तथा राजनीतिक दलसँग आबद्ध समूहहरूबीच झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकरी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप बिग्रिन नदिन” कर्फ्यू आदेश जारी गर्नुपरेको हो।




