काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले आइतबार प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणाली दुवैतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
जसअनुसार आगामी माघ ६ गते पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन पत्र दर्ता गर्न सकिने छ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
यसैगरी माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरीका लागि समय निर्धारण गरिएको छ।
यस्तै माघ ८ गते साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका आयोगले बनाएको छ।
यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने आयोगले जनाएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले कार्यतालिकामा उल्लेख गरेको छ।
यस्तै सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने कार्यतालिकामा उल्लेख छ। सो कार्यतालिका अनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आयोगमा निवेदन पेस गर्न सक्ने छन्।
यसैगरी मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
सार्वजनिक कार्यतालिका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ।



